महोत्तरी, चैत २३ । कोभिड-१९ को सन्त्रासबीच महोत्तरी कारागारका कैदीबन्दी राम्ररी निदाउन पाए । कोभिड-१९ सङ्क्रमण छल्न एकअर्काबीच (शारीरिक दूरी) कम्तीमा तीन फिट राख्नुपर्ने सन्देश सुन्दै आएका जलेश्वरस्थित महोत्तरी कारागारका कैदीबन्दी ठाउँ अभावले खाँदिएर बस्नु परेपछि सन्त्रासले राम्ररी निदाउन नपाए ।

“हजुर, रेडियो सुन्छौँ, टेलिभिजन हेर्छौँ, एकअर्कासँग कम्तीमा तीन फिट पर बस्नुहोस् भन्ने सन्देश हुन्छ”, कारागारको पुरुषकक्षका एक कैदीबन्दी भन्छन्, “हेर्नुहोस् यो खाँदाखाँदमा हामी कसरी बाँच्ने ?” कारागारमा कोचकाच कैदीबन्दी भएपछि त्यो दूरी निर्वाह गर्न सक्ने अवस्था नरहेको ती कैदीबन्दीको गुनासो छ । विसं १९१३ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएको कारागारको कैदीबन्दी राख्ने क्षमता १३५ हो । पुरुष र महिलाका लागि छुट्टाछुट्टै दुई कक्ष रहेको कारागारमा अहिले दुवैतर्फ गरी ५३० कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । चार आश्रित बालबालिका (आमासँगै आएका पाँच वर्षमुनिका नानी) सहित महिलाकक्षमा ४५ र पुरुषकक्षमा ४८५ कैदीबन्दी छन् ।

यसअघि खाँदिएरै बस्दै, खाँदै आए पनि कोरोना भाइरसको खबर आउन थालेसँगै यसबाट बच्ने उपायबारेका सन्देश सुन्न थालेयता कैदीबन्दीको मन थामिँदैन । “मान्छेलाई सचेत गराउन लगातार सन्देश प्रवाहित भइरहेका छन्, विश्वभरि नै एउटै स्वर सुनिँदो छ”, एक बन्दीे (थुनुवाले) भने, “यहाँ हेर्नुहोस्, हामी भने खोरमा खाँदिएका बाख्राझैँ ठेलमठेल भएर बस्नुपरेको छ ।” खाना पकाउने र खाने ठाउँ, सुत्ने ठाउँ नहुँदा पछिल्ला केही दिनयता राति पालो मिलाएर सुत्ने, बस्ने गरिएको कैदीबन्दीको भनाइ छ । अहिले कारागारमा एक जनालाई दुई फिट (चौडाइ) ठाउँ पनि मुस्किलले पुग्ने कैदीबन्दी बताए ।

कारागारमा आवश्यक मात्रामा शौचालय, धारा र बस्ने, सुत्ने ठाउँको अभावले दैनिक नित्यक्रियामा पनि पालो कुर्नुपर्ने अवस्था छ । ठिक समयमा न्वाइध्वाई र आराम हुन नसक्दा एक चौथाइ सङ्ख्याका कैदीबन्दी सधैँजसो बिरामी नै रहने गरेका निमित्त कारागार प्रमुख (जेलर) मक्सुधन महासेठ नै स्वीकार गर्नुहुन्छ । “हामीले कारागारको भौतिक अवस्था जीर्ण भएको र यसको क्षमता पनि १३५ मात्र रहेको कुरा कारागार व्यवस्था विभागमा दर्शाउँदै आएका छौँ”, महासेठले भन्नुभयो, “न्यायिक निकायबाट कैदीबन्दी पठाउने क्रम रोकिँदैन, के गरौँ ?”

खासगरी न्यायिक निकायबाट मुद्दा चाँडो फस््र्योट (फैसला) नहुँदा कारागारमा थुनुवा (न्यायिक निकायले मुद्दा फैसला नहुञ्जेल पुर्पक्ष थुनामा राख्न आदेश गरेका आरोपी, बन्दी) को चाप निकै छ । अहिले कारागारमा रहेका ५२६ ९चार आश्रितबाहेक० मध्ये ६७ पुरुष र १५ महिला कैदी मात्र मुद्दा फैसला भएर सजाय काटिरहेका छन् । यसबाहेक २६ महिला र ४१८ पुरुषसहित ४४४ जना पुर्पक्ष थुनाकै रहेका छन् । पछिल्लोपटक कोभिड-१९ को क्रममै कारागारको चाप कम गर्ने उद्देश्यले एक वर्षसम्मको कैद तोकिएकालाई सोवापतको धरौटी रकम -दैनिक रु ३०० का दरले-लिएर कारागारमुक्त बनाउने सरकारको निर्णयअनुसार तीन जना यसै साता मुक्त भएर गए पनि दिनहुँ अन्य थुनुवा आउने क्रम भने नरोकिएको महासेठ बताए ।

कारागारमा मुख्य समस्या समयमा दिसापिसाब गर्न र न्वाइध्वाई गर्न नपाउनु रहेको कैदीबन्दी बताए । कारागारको पुरुषकक्षमा चालू अवस्थामा छ शौचालय र त्यत्तिकै सङ्ख्याका धारा छन् । आफ्नो पालो पाउन कहिलेकाहीँ लामै समय कुर्नुपर्ने कैदीबन्दीको दुःखेसो छ । सरसफाइको कमीले नै धेरैजसो पुरुषकक्षका कैदीबन्दी जिउमा फोहर खटिरा आउने समस्याले पीडित छन् । यसैगरी ४५ रहेका महिलाकक्षमा पनि एउटा शौचालय र एउटै धारामा निर्वाह गर्नुपर्ने अवस्था रहेको त्यहाँका कैदीबन्दीको गुनासो छ ।निर्माण भएयता कहिल्यै राम्रो मर्मतसम्भार नपाएको कारागार भवनको छतबाट टुक्रा उप्किएर झर्दा अब यही किचिएर मरिने भइयो भन्ने लाग्ने गरेको कैदीबन्दी बताए । त्यसैगरी पर्खालका इँटा पनि मक्किएर झर्ने गराए । कारागारको रुग्ण अवस्थाबारे मानवअधिकारकर्मीले कारागार प्रशासनको ध्यानाकर्षण गराउँदै आए । यद्यपि कारागार प्रशासनले भने भौतिक पक्षको नयाँ व्यवस्थापन आफ्नो बुताको कुरा नरहेको स्पष्ट पार्दै कैदीबन्दीको चाप घटाउन न्यायिक निकायले मुद्दा चाँडो फैसला गर्ने र थप थुनुवा नपठाउने मात्र उपाय देखेको निमित्त कारागार प्रमुख महासेठ बताए ।

रासस

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!