जनकपुरधाम : प्रदेश २ सरकारले अघि सारेको मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गर्न साइकल खरिदमा अनियमितता भएको विषयमा चर्चा भइरहँदा त्यही कार्यक्रम अन्तर्गतको ‘छोरी शिक्षा बीमा’मा पनि ब्यापक अनियमितता भएको  छ ।

मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान नाम दिएर निकै नै तामझामका साथ ल्याइएको कार्यक्रममध्ये ‘छोरी शिक्षा बीमा’ कार्यक्रम अहिले रोकिएको छ । गएको २०७५ माग १ गतेयता जन्मिएका प्रदेशका सबै छोरीहरुको प्रदेश सरकारले निशुल्क बीमा गरिदिने घोषणा मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेका थिए ।

कार्यक्रम अन्तर्गत माघ १ गतेपछि जन्मिएको बालिकाहरूलाई १ लाख २५ हजारको बीमा प्रदेश सरकारले गरिदिने गरेको थियो । बीमाका लागि प्रदेश सरकार र प्रभु बैंकबीच सम्झौता नै भएर काम पनि भएको थियो । तर गएको वर्षदेखि भने यो कार्यक्रम रोकिएको छ ।

महालेखाको प्रतिवेदनले ‘छोरी शिक्षा बीमा’को नाममा प्रदेश सरकारले गरेको खर्चको विषयमा प्रश्न उठाएको छ ।

प्रदेश सरकारले प्रदेशभरीका २ हजार ७ सय ७८ छोरीको बीमा गर्दा १४ करोड ९९ लाख ८७ हजार रुपैयाँ बैंकमा उपलब्ध गराएको जनाएको छ । तर ती छोरीहरुको मुद्दती खाता संचालन भए नभएको तथा बीमा पोलिसी जारी गरे नगरेको प्रमाण भने प्रदेश सरकारले दिन सकेको छैन । यसले छोरी बीमाको नाममा पनि अनियमितता भएको महालेखाको प्रतिबेदनले उल्लेख गरेको हो ।

प्रदेश सरकारले छोरी बीमा बापत एक छोरीको एक पटकमा ३७ हजार रुपैयाँका दरले २ हजार ७ सय ७८ छोरीको नाउँमा प्रदेश सरकारले प्रभु बैंकमा प१४ करोड ९९ लाख ८७ हजार रुपैयाँ एकमुष्ट जम्मा गरेको थियो ।

महालेखाको प्रतिबेदनले तोकिएको कार्यमा खर्च भएको सुनिश्चितता नभएको देखिएको भन्दै प्रदेश सरकारको काम प्रति प्रश्न उठाएको हो ।

साइकल वितरणमा अनियमितता भएको बारे बुधबारमात्रै मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापामारी गरेर आवश्यक फाइल नियन्त्रणमा लिएको छ । छोरी बीमा कार्यक्रममा पनि मुख्यमन्त्री कार्यालयले उस्तै अनियमितता गरेको भन्दै यसबारेमा पनि छानविन हुनुपर्ने अहिले सामाजिक सञ्जालमा आवाज उठेको छ ।

‘छोरी बीमा’ कार्यक्रमका लागि प्रदेशका ८ वटै जिल्लामा खटाइएका प्रतिनिधिमा मुख्यमन्त्रीले आफ्ना मान्छे भर्ति गरेको भन्दै आलोचना पनि भइरहेको छ ।माधेश टप

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!