५ पुस, महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए ।
तर राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् । उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी छन् ।
संसद विघटनको विरुद्घमा
प्रधानमन्त्रीले चालेको कदमका कारण देशकै राजनीति गर्माएको छ । संविधान विपरित संसद विघटन भएको भन्दै देशका विभिन्न स्थानमा नेकपाका नेता कार्यकर्ताहरुले विरोध गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ताहरुले अहिले ठाउँठाउँमा विरोध प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्रीका कारण संविधान क्षतविक्षत भएको, संविधान र राष्ट्र नै असुरक्षित भएको हुनाले उनलाई देशद्रोहको आरोपमा कारबाही गर्नुपर्ने नेकपा नेता तथा कार्यकर्ताको भनाई छ ।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ताहरुले बाराको कलैयामा प्रदर्शन गरेका छन् भने पोखरामा युवाहरूले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि युवा विद्यार्थीले पुत्ला जलाएका हुन् ।
देशमा चलिरहेको यस्तो घिनास्पद राजनितिकले देशको अस्तित्वलाई मेटाउने तर्फ लागेको देखिन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !