सप्तरी प्रिमियर लिगको अक्सन आज – WicketNepal

WicketNepal Staff, २०७८ चैत्र ६, आईतवार ०५:००

सप्तरी क्रिकेट संघको आयोजनामा यही चैत्र १० गते देखि सप्तरीको राजविराजमा सुरु हुने चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग टि-२० ( एसपीएल ) प्रतियोगिताको लागि खेलाडी चयन गर्न अक्सन बुधबार हुँदैछ। अक्सन कृष्ण पार्टी प्यालेस राजविराजमा विहान ११ बजे सुरु हुनेछ।

पाँच टोलि सहभागी रहेको प्रतियोगितामा एउटा टिममा १६ जना खेलाडीहरु रहनेछन् त्यसमध्ये १४ जना खेलाडीको चयन अक्सनमार्फत हुनेछ भने प्रत्येक टिमको मार्की र लोकल आइकन खेलाडी आयोजकद्वारा चुनिएको छ।

प्रतियोगितामा बोदे बर्साईन थन्डर्स, टिभीएस किंग्स राजविराज, तिलाठी कोइलाडी, बजाज खडक वारियर्स र रुपनी राईडर्स गरि कुल पाँच टोलि सहभागी छन्।

सहभागी सबै टिमले आफ्नो मार्की र लोकल आइकन खेलाडीको घोषणा भैसकेको छ। तिलाठी कोइलाडीको मार्की खेलाडी सुनिल धमला र लोकल आइकन आशिष झा, बजाज खडक वारियर्सको मार्की खेलाडी सिद्धान्त लोहनी र लोकल आइकन गोमानन्द अमात्य , टिभीएस किंग्स राजविराजको मेहबुब आलम र लोकल आइकन रोहन विक, राजविराज द किंगको मार्की खेलाडी दिलिप नाथ र लोकल आइकन अनिल कुमार यादव छन् भने राजविराज ब्रदर्सको मार्की खेलाडी अनिल कुमार शाह र लोकल आइकन विक्रम धोज कार्की छन्।

अक्सनमा कुल १३९ जना खेलाडीले नाम दर्ता गराएका छन्। प्रत्येक टिममा ५ जना खेलाडी सप्तरी जिल्ला बाहिरको हुनेछन्।

अक्सनमा सिनियर राष्ट्रिय तथा अन्डर-१९ क्रिकेटरहरु सहभागी छन्। राशिद खान, भुवन कार्की, अनिल खरेल, अविनाश कर्ण, दिपेश कंडेल, विशाल बिक्रम केसी, हसिम अन्सारी, नन्दन यादव, योगेन्द्र सिंह कार्की, बसिर एहमद जस्ता खेलाडी माथि बोलि लाग्नेछ।

अक्सनमा सहभागी खेलाडीहरुलाई चार ग्रेडमा विभाजित गरिएको छ। ‘ए’ ग्रेड मा राष्ट्रिय क्रिकेट टिमको लागि खेलेका खेलाडीहरु, ‘बि’ ग्रेडमा कम्तिमा ५ वटा राष्ट्रिय प्रतियोगिताहरु तथा उमेर समुह राष्ट्रिय टिमको लागि खेलेका खेलाडीहरु, ‘सी’ ग्रेडमा कम्तिमा जिल्ला टिमको लागि खेलेका खेलाडीहरु तथा ‘डी’ ग्रेडमा जिल्ला स्तरीय प्रतियोगिता खेलेका खेलाडीहरु समाबेश रहेका छन्।

ए ग्रेडमा रहेका खेलाडीहरुलाई बेस प्राइस ८ हजार देखि अधिकतम २१ हजार रुपैयाँ सम्म बोलि लाग्नेछ। यस्तै बि श्रेणीका खेलाडीहरुलाई ५ देखि १८ हजार सम्म, सी श्रेणीका खेलाडीहरुलाई ३ हजार ५ सय देखि ९ हजार रुपैयाँ सम्म तथा ‘डी’ श्रेणीका खेलाडीहरुलाई २ हजार ५ सय देखि ७ हजार ५ सय रुपैयाँसम्म बोलि लाग्नेछ। एक भन्दा बढी टिमले एकै खेलाडीको लागि अधिकतम मूल्यमा बोलि लगाएको खण्डमा गोला प्रथाद्वारा टिमको चयन हुनेछ।

टिमहरुले ए ग्रेडबाट दुई जना मात्र खेलाडी तथा बि, सी र डी ग्रेडबाट समान चार जना खेलाडी टिममा राख्न पाउनेछ।

प्रतियोगिताको विजेता टिमले तिन लाख रुपैयाँ तथा उपविजेता टिमले एक लाख पचार हजार रुपैयाँ प्राप्त गर्ने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले जानकारी गराएका छन्।

लिगको खेलहरु राजविराज स्थित राज रंगशालामा आयोजना हुनेछ जहाँ खेल हेर्न दर्शकहरुले टिकट काट्नु पर्नेछ। प्रतियोगिताको लागि मैदानको तयारी सुरु भइसकेको छ।

एक साता चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलीनेछ।

Leave a comment

Your email address will not be published.