छठको मुख्य दिन आज सूर्यको आराधना गर्दै देशका विभिन्न स्थानमा यो पर्व मनाइँदै छ

५ मंसिर, काठमाडौं । छठको मुख्य दिन आज सूर्यको आराधना गर्दै देशका विभिन्न स्थानमा यो पर्व मनाइँदै छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझपख अस्ताउँदो र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ । बुधबार सुरु भएको यो चारदिन पर्व यसरी मनाईन्छ ।
ब्रतालुले पहिलो दिन नुहाएर खाने र दोस्रो दिनको साँझको खरना विधि घरभित्रै सम्पन्न गर्छन् । तेस्रो दिन साँझ र चौथो दिन बिहानको धार्मिक अनुष्ठानका लागि ब्रतालुहरू प्राकृतिक जलाशयको किनारमा पुग्छन् ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
तर यसपालि कोभिड–१९ को बढ्दो संक्रमणका कारण सामूहिक रूपले व्रत नमनाउन स्थानीय प्रशासनले सूचना जारी गरेका छन् ।

त्यसैले अधिकांश ब्रतालुहरू परिवारजनसँगै घरबाटै वा नजिकैको जलाशय किनारमा तामझाम र भिडभाड नगरी पूजा गर्दै छन् । धार्मिक मान्यता एवं लोक आस्थाअनुरूप परिवार कल्याण, रोग निदान, सन्तानप्राप्ति तथा समृद्धिको कामनासाथ छठ मनाइन्छ । यस अवसरमा यो पर्वको विधि एवं परम्परासँग सम्बन्धित लोकगीत गायन र कथा वाचन गरिन्छ । यो पर्वको अवसरमा ब्रतालु परिवारजनले घरदेखि पूजास्थलसम्म दीपावलीसमेत गर्छन् ।

पर्वकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले छठपर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्दै सबै नेपालीमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने जनाएकी छन्

Leave a comment

Your email address will not be published.