पहिचानमा आधारित सङ्घीयताले मात्रै सामाजिक स्थिरता ल्याउँछ : नेता श्रेष्ठ

नेपालको बहुसाँस्कृतिक समाजलाई सम्बोधन गर्दै पहिचानमा आधारित सङ्घीयताले मात्रै सामाजिक स्थिरता ल्याउने जनता समाजवादी पार्टीका केन्द्रीय नेता राजेन्द्र श्रेष्ठले बताएका छन् । उनले सामाजिक साँस्कृतिक अन्तरिविरोधको अन्त्य गर्न सङ्घीयता प्रयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।

शनिबार पार्टीको लिम्बुवान राष्ट्रिय समितिले आयोजना गरेको भर्चुअल संवादको चौथो श्रङ्खलामा बोल्दै सात प्रदेशको संरचना प्रशासनिक सङ्घीयता मात्रै रहेको आरोप लगाए । ‘सात प्रदेशले नेपालमा पहिचानको सवाललाई सम्बोधन गर्दैन । अहिलेको सङ्घीयताले केन्द्रीकृत सत्तालाई नै शक्तिशाली बनाउँछ । प्रदेशको क्षेत्राधिकारमा अङ्कुश लगाइएको छ,’ उनले भने, ‘कम्युनिष्ट सत्ताले तलका जनतालाई शक्ति र अधिकारसम्पन्न बनाउनुपर्नेमा सङ्घीयतालाई गलत तरिकाले प्रयोगमा ल्याएका छन् ।’ पार्टी सिद्धान्तलाई स्थापनाकालदेखि नै नजिकबाट हेर्दै आएका नेता श्रेष्ठले समुन्नत सङ्घीय समाजवादले मात्रै बुहल राष्ट्र राज्यलाई सम्बोधन गर्ने बताए । उनले नेपालमा पूँजीवादी र कम्युनिष्टले समाजवाद ल्याउने कुरा झुट भएको आरोप लगाए ।

पार्टीले मुख्य गरी सङ्घीयता र समाजवादलाई राजनीतिक एजेन्डा मानेको बताए । उनले सङघीयता देशको शासनप्रणालीसँग सम्बन्धित रहेको तर समाजवाद राज्यको चरित्रसँग जोडिनेमा सबैलाई प्रष्ट हुन आग्रह गरे । पहिलो संविधानसभा विघटन हुनुपूर्व प्रस्ताव गरिएको दश र १४ प्रदेशले पहिचानलाई अधिकतमा सम्बोधन गरेको स्मरण गराए । ‘पहिलो संविधानसभाले प्रस्तुत गरेको १४ प्रदेश र राज्य पुनःसंरचना आयोगले सिफारिस गरेको १० प्रदेश कायम नभएसम्म राजनीतिक अस्थिरता रहिरहनेछ । सुषुप्त अवस्थामा भएपनि सामाजिक साँस्कृतिक आन्दोलनहरू चलिरहनेछन्,’ उनले थपे । पूर्वमन्त्री श्रेष्ठले संविधान संशोधनको मुख्य उद्देश्यमध्ये राज्यको संरचनामा पुनरावलोकन गर्न र नाम पहिचानमा आधारित भएर राख्न रहेकोमा जोड दिए ।
पार्टीका सङ्घ, प्रदेश, राष्ट्रिय समिति, प्रवासका नेता कार्यकर्ताहरू सहभागी भएको संवाद लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम मुख्य सचिव केदार धिमालले सञ्चालन गरेका थिए ।

 

Leave a comment

Your email address will not be published.