प्रेमीले आफ्नी प्रेमिका फेल हुने डरले महिलाको कपडा लगाएर परीक्षा दिन गए

एजेन्सी प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भनिन्छ। अफ्रिकी मुलुक सेनेगलमा यसलाई चरितार्थ गर्दै एक प्रेमीले आफ्नी प्रेमिकाको कपडा लगाएर परीक्षा दिन पुगेको घटना सार्वजनिक भएको छ।

प्रेमिकाले राम्ररी नपढेको भएर परीक्षामा फेल हुने आशंका गरेपछि प्रेमी महिलाको लुगा लगाएर जाँच दिन पुगेका थिए। तीन दिनसम्म त सुपरीवेक्षकहरूले थाहा पाएनन् तर चौथो दिन उनी पक्राउ परे।

ग्यासटन बर्जर विश्वविद्यालयका विद्यार्थी खादिम म्बौपले हेडस्कार्फ, ब्रा र कानमा झुम्का तथा अनुहारमा मेकअप लगाएर परीक्षा दिएका थिए। म्बौपकी प्रेमिका गंगू डियोमलाई परीक्षा फेल हुने डर भएपछि म्बौपले योजना बनाए। प्रेमिकाको कपडा लगाएर उनी जाँच दिन गए। तीन दिन कसैले थाहा पाएन।

चौथो दिन एक सुपरीवेक्षकलाई शंका लाग्यो। अनि उनलाई प्रहरीसमक्ष बुझाइयो। प्रेमी तथा प्रेमिकाविरुद्ध ठगीको मुद्दा दर्ता गरिएको छ। उनीहरू दोषी ठहरिएमा पाँच वर्षका लागि कुनै पनि परीक्षामा भाग लिन पाउने छैनन्।

उनीहरूलाई अधिकतम पाँच वर्षको सजाय पनि हुन सक्छ।

Leave a comment

Your email address will not be published.