साहस ऊर्जाको आइपिओमा आवेदन दिने आज अन्तिम दिन,तपाईले दिनु भयो त? छुट्ला है

काठमाडौं । साहस ऊर्जा लिमिटेडको आइपीओमा आज अन्तिम दिन हो । कम्पनीले यही बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रू. ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो ।

निष्काशन गरिएको प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरेको थियो । बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

यो आइपीओमा १७ लाख १७ हजार बढीले दिइसकेको बुझिएको छ । कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको थियो ।

सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआएमा असोज २० सम्म निष्काशन खुला हुने भनिएको थियो । तर माग बमोजिम आवदेन परिसकेको हुनाले आजै अन्तिम दिन भएको हो ।

कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत रू. १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् ।

साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।ई–आर्थिक

Leave a comment

Your email address will not be published.